पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने सम्भावना

काठमाडौं, १७ माघ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

ती दुवै मौसमी प्रणालीका कारण आज अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा साधारणतया बदली रहनेछ ।

आउँदो शुक्रवारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।