अन्तर्वार्ता

सानो टुँडिखेल आर्मीले कवाज खेलेर हडपे, खुलामञ्च खेलमैदान बनाएर हडप्नुहुन्नः पद्मसुन्दर जोशी

केही सयम अघि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योगनासहित काठमाडौं महानगरपालिका अघि बढेपछि त्यसको चर्को विरोध भएको थियो । त्यसपछि महानगरपालिका त्यो योजनाबाट पछि हटेको थियो ।

अहिले फेरि त्यहि ठाउँमा फुटबल मैदान बनाउने योजनासहित अघि बढेपछि फेरि विरोध सुरु भएको छ । सरोकारवालाहरुले त्यसको तिव्र विरोध गरेका छन् । हितिविज्ञ पद्मसुन्दर जोशी खुलामञ्चलाई खुला छाड्नुपर्ने धारणा राख्नुहुन्छ । सार्वजनिक जग्गालाई सरकारी जस्तो गरेर स्थानीय तहले आफूखुशी गर्ने कुरा गलत भएको उहाँको तर्कसँग छ । यहि विषयसँग केन्द्रित भएर जोशीसँग मैत्रिन्युजले गरेको कुराकानीः

काठमाडौं महानगरपालिकाले पछिल्लो समय खुलामञ्चलाई फुटबल मैदानमा परिणत गर्ने भनेर योजना अघि बढाएको छ । यस्लाई तपाईंले कसरी लिनुभएको छ ?

सार्वजनिक क्षेत्र भनेको सार्वजनिक प्रयोगका लागि हो । सार्वजनिक प्रयोग विभिन्न खालको हुन्छ । युवाहरुलाई, केटाकेटीहरुलाई खेल्न र वृद्धवृद्धाका लागि बस्ने ठाउँका रुपमा उपयोग गर्नका लागि पनि सार्वजनिक ठाउँको प्रयोग गर्न सकिन्छ । त्यसैले खुलामञ्चमा फुटबल खेल्ने ठाउँ हुँदैमा आपत्ति मान्नु पर्ने कुरा भएन । तर, अहिले महानगरपालिकाले खुलामञ्चलाई नै फुटबल मैदानमा परिणत गर्ने कुरा भने उचित होइन ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले त त्यसका लागि नक्शा नै तयार पारिसकेको छ नि त ?

मैले अघि पनि भने, सार्वजनिक जग्गा, नीजि जग्गा र सरकारी जग्गामा भिन्नता छ । नीति जग्गा भनेको जसको हो उसैले भोगचलन गर्छ । सार्वजनिक जग्गा भनेको सर्वसाधारणको उपयोगका लागि हो । त्यसमा सरकारको एक प्रकारको दायित्व हुन्छ । त्यो भनेको सरकारले संरक्षण गर्ने । संरक्षण बाहेक उस्ले त्यस्ता ठाउँमा भवन बनाउने, यो गर्ने, ऊ गर्ने गर्न पाउँदैन ।

सरकारले आफ्नो खुशी गर्न पाउने भनेको सरकारी जग्गामा मात्रै हो । सार्वजनिक जग्गाको उसलाई संरक्षण गर्ने मात्रै अधिकार हुन्छ । त्यसको उपयोगलाई एउटा वा अर्को बाहनामा गर्न पाइँदैँन । जहाँसम्म खुलामञ्चमा फुटबल खेल्ने कुरा छ । अहिले पनि त्यहाँ फुटबल खेल्न कसैलाई रोकटोक नै छैन । तर, त्यहाँ फुटबल मैदान नै बनाउने भनेपछि विस्तारै अरु गतिविधि विस्तापित हुँदै जाने खतरा हुन्छ । त्यस्तो अवस्थामा एउटा सानो समुहले मात्रै त्यसलाई उपयोग गर्ने र अन्य समूहले उपयोग गर्न नपाउने हुन्छ । त्यसको एउटा उदाहरण जावलाखेललाई लिन सकिन्छ ।

अहिलेको जावलाखेल पहिलाको खुलाचौर हो । सुरुमा त्यहाँ युवाहरुलाई फुटबल खेल्नका लागि त्यो मैदान उपलब्ध गराइएको थियो । पछि फुटबल खेल्दाखेल्दै त्यसलाई उनीहरुले तारबार गरेर जाली लगाएर घेर्ने काम भयो । अनि विस्तारै युथक्लबका युवाले फुटबल खेल्ने बाहेक अरुलाई त्यहाँ निषेध गरियो । एक ढंगले हेर्ने हो भने त्यो नीजिकरण जस्तो भयो । अहिले पनि जावला खेलमा गएर हेर्ने हो भने जावलाखेल युव क्लवले त्यहाँ फुटसल भनेर त्यहाँ ठूलो भवन पनि बनाएको छ । त्यसैले सार्वजनिक ठाउँलाई सार्वजनिक रुपमा नै नछाड्दा विस्तारै साँघुरिदैँ गएर एउटा निश्चित समूहले मात्रै उपयोग गर्ने अवस्था आउँछ । त्यो सार्वजनिकको परिभाषा भित्र पर्दैन । यी सबै उदाहरणले पनि टुँडिखेललाई टुँडिखेलकै रुपमा छाड्नुपर्छ ।

काठमाडौंकै टुँडिखेलकै कुरा गर्ने हो भने हामी जुन सहिदगेट भन्दा उतापट्टिको टुँडिखेललाई सानो टुँडिखेल भन्छौँ । त्यहाँ सुरुमा आर्मीहरुले कवाज खेल्थे । विस्तारै त्यहाँ आर्मीको मुख्यालय बनेको छ । यसरी मिचिएर जाने कुराका उदाहरण हेर्ने हो भने पनि खुलामञ्चलाई खेलमैदान बनाउने कुरा गलत छ ।

महानगरपालिकाले त फुटबल मैदान भनेरै नक्शा तयार गरेको छ । भनेपछि यो पनि एक प्रकारले भन्ने हो जावलाखेल र आर्मीले सुरुमा कवाज खेलेर पछि कब्जा गरेको सानो टुँडिखेलको इतिहास जस्तै नहोला भन्न सकिएन होइन त ?

त्यस्तो हुन सक्ने भएकाले सुरुमै त्यसको रोकथाम गर्न जरुरी छ । फुटबल पनि खेलौ नखेल्ने होइन । तर, त्यो ठाउँमा अरुलाई निषेध गर्ने कुरा उचित हुँदैन । त्यसलाई सार्वजनिक ठाउँकै रुपमा छाड्नुपर्छ । ११ गुण २ बराबरा २२ जना खेलाडीका लागि मात्रै त्यो सार्वजनिक ठाउँ बनाउँनु हुँदैन । खुलामञ्चमा अहिले पनि त फुटबल खेलिरहेका छन् नि । त्यहाँ फुटबल खेल्न कहाँ रोक छ र ? त्यसैले फुटबल मैदान भनेर घोषणा गर्न आवश्यक छैन ।

खुलामञ्चलाई निश्चित उपयोगका लागि लैजाने हो भने महानगरपालिकाले आफ्नो नम्बरी जग्गामा गरे भैहाल्यो नि ? सार्वजनिकमा त्यसो गर्न पाइन्न । सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार मात्रै महानगरपालिकालाई छ । उपयोगलाई फेरबदल गर्ने अधिकार छैन । यो काठमाडौं महानगरपालिका मात्रै होइन मुलुकभरीका पालिकाका लागि पनि यहि नियम हो । नेपाल सरकारले पनि अपनाउनु पर्ने कानुनी जिम्मेवारी यहि हो ।

टुँडिखेललाई काठमाडौँको फोक्सो भनिन्छ । यहि ठाउँमा कहिले भूमिगत पार्किङका कुरा लिएर महानगरपालिका आउँछ । कहिले फुटबल मैदानको योजना ल्याउन । यो कत्तिको सान्दर्भिक होला ?

सर्वसाधारणले पनि बुझ्नुपर्ने कुरा के–हो भने सार्वजनिक क्षेत्र सार्वजनिक हुनुपर्छ । महानगरपालिकाले पनि त्यो महत्वलाई बुझ्नुपर्छ । सार्वजनिक जग्गाको सन्र्दभमा महानगरपालिकाले व्यापक छलफल गरेर मात्रै अघि बढ्नुपर्छ । त्यसको अरु विकल्प छैन ।