बन्द अवस्थामा रहेको नेपालकाे पहिलाे उद्याेग विराटनगर जुट मिल्समा आगलागी, आगलागी शंकास्पद
विराटनगर, ९ फागुन । विराटनगरस्थित जुट मिल्समा आगलागी भएको छ । पछिल्लाे समय बन्द अवस्थामा रहेकाे नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो ।
विराटनगर महानगरपालिका–१६ स्थित जुट मिल्समा आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए ।
बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोत जनाएकाे छ ।
‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, घटना शंकास्पद देखिएकाेले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ ।
बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।