विश्वकप लिग–२ मा नेपाल नामिबियासँग पराजित
काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो।
१६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नामिबियाका लागि गेर्हार्ड ह्रासमसले ५३ र जेजे स्मितले अविजित ३४ रन बनाए।
नेपालका लागि कुशल भूर्तेलले ३ तथा ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रोहित कुमार पौडेलले १–१ विकेट लिए। ओपनर निकोलस डाभिनलाई रनआउट गर्दा नेपालले पहिलो विकेट पाएको थियो।
पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियाे । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले। आसिफले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए ।
कुशल मल्ल र आसिफले ५७ रनको साझेदारी गरेका थिए । यस्तै मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भूर्तेलले १८ र करण केसीले १२ रन बनाए।
दीपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। नेपालका अनिल साह, देव खनाल र कप्तान रोहित कुमार पौडेल भने डक आउट भएका थिए ।
नामिबियाका लागि बर्नाड स्कोल्ज र जान निकोल लफ्टी एटनले ४–४ विकेट लिएका थिए ।