पपुवा न्युगिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजकाे फाइनलमा प्रवेश

काठमाडौं, २९ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनल प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए ।
त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए ।
त्यस्तै सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए । टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो ।
नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।
पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए ।
पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ । विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।