भुटानमा हिमताल विस्फोटपछि बाढी, पर्यटकीय क्षेत्रका संरचनामा क्षति
काठमाडौँ, १४ कात्तिक : भुटानको शिन्ताफु हिमताल फुटेर आएको बाढीले गासा छाचुस्थित प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा भौतिक संरचनामा क्षति पुर्याएको छ। शुक्रबार राति आएको आकस्मिक बाढीले पुल तथा सडक बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भुटानको सरकारी प्रसारण संस्था बीबीएसका अनुसार बाढीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। रातिको समयमा बाढी आएको र पानीको बहाव तीव्र रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको हुन सक्ने बीबीएसले जनाएको छ।
भारत र चीनको बीचमा अवस्थित भुटानको उत्तरी क्षेत्रमा पर्ने गासा छाचु प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँस्थित प्राकृतिक तातोपानी कुण्डमा बाढीले क्षति पुर्याएको हो।
भुटानको राष्ट्रिय दैनिक ‘कुएन्सेल’का अनुसार तातोपानी कुण्ड रहेको लाया गाउँ जाने सडकको केही भाग बाढीले बगाएको छ। सडक अवरुद्ध भएपछि अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पानी पुग्नुअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
यसअघि सन् २०२१ मा पनि मोछु नदीले धार परिवर्तन गरी बगाउँदा गासा छाचु क्षेत्रमा आकस्मिक बाढी आएको थियो।
यसैबीच, भुटानमा हिमताल विस्फोटपछि आएको बाढीलाई ध्यानमा राख्दै भारतको पश्चिम बंगाल र आसाममा संकोश नदीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाइएको छ।
हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आउने बाढीको जोखिम पछिल्लो समय बढ्दो छ। यसअघि गत अगस्टमा चीनसँगको सीमा क्षेत्रमा आएको बाढीका कारण नेपालमा एक हजार ५०० भन्दा बढीको मृत्यु भएको र पाँच हजारभन्दा बढी बेपत्ता भएको विवरण सार्वजनिक भएको थियो।
