एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौँ भिड्दै
काठमाडौँ, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
दिउँसो साढे १२ बजे सुरु हुने खेलमा लुम्बिनी लिगको शीर्ष स्थान कायम राख्ने लक्ष्यसहित मैदान उत्रँदा जनकपुर जित निकाल्दै आफ्नो स्थान सुधार्ने प्रयासमा हुनेछ।
लुम्बिनीले तीन खेलमध्ये दुईमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ। चार खेल खेलेको जनकपुरले दुईमा जित र दुईमा हार बेहोरेको छ। ऊ तालिकाको चौथो स्थानमा छ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्।
चार खेल खेलेको विराटनगर दुई जित र दुई हारसहित तालिकाको दोस्रो स्थानमा छ। दुई खेल खेलेको काठमाडौँले एकमा जित र एकमा हार बेहोर्दै सातौँ स्थानमा रहेको छ।
