कार्यवाहक प्रमुख डंगोलसँग भारतीय अभिनेत्री शबाना आजमी र जापानी निर्देशक ताकायुकीको भेट

कार्तिक १३, काठमाडौँ।  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग नेपाल भ्रमणमा रहेका भारतीय अभिनेत्री शबाना आजमी र जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले शिष्टाचार भेटघाट गरेका छन्। काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा आयोजित ‘काठमाडौँ फिल्म फेस्टिभल’मा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन्।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिक कथावाचन संस्कृतिबारे प्रकाश पार्दै फेस्टिभलको उद्देश्य स्पष्ट पारिन्।

“डबलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा संगीत तथा संयुक्त परिवारमा पुस्तान्तरण हुने दन्त्यकथा र लोककथाहरू काठमाडौँका परम्परागत सञ्चारका माध्यम हुन्,” डंगोलले भनिन्, “आधुनिकतासँगै हराउँदै गएको यो कथा भन्ने संस्कृतिलाई काठमाडौँ फिल्म फेस्टिभलका माध्यमबाट युवा, चलचित्र र आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेका छौँ।”

फेस्टिभलको निरन्तरता र समुदायस्तरको सहभागिताबारे पाहुनाहरूले राखेको जिज्ञासामा डंगोलले यो कार्यक्रमको सुरुआत मात्र भएको र आगामी दिनमा परिमार्जन गर्दै निरन्तरता दिने योजना रहेको बताइन्।

सो अवसरमा भारतीय अभिनेत्री शबाना आजमीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘टोल-टोलमा फिल्म महोत्सव’ अवधारणाको प्रशंसा गरिन्। घरमै सीमित दर्शकलाई सार्वजनिक चोकसम्म ल्याएर चलचित्रप्रति रुचि जगाउनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भनिन्, “अब समुदायस्तरमै स्थानीय र चाखलाग्दा कथाहरू पहिचान गर्ने, सुन्ने र सुनाउने सीप विकास गर्नुपर्छ। यस्ता मौलिक कथाहरू राजनीतिक विषयभन्दा पनि बढी प्रभावकारी हुन्छन् र यसले चलचित्र उद्योगको समग्र विकासमा सहयोग पुर्‍याउँछ।”

त्यस्तै जापानी निर्देशक ताकायुकी नाकामुराले यामागाता सहरको अनुभव साट्दै युनेस्कोको ‘क्रिएटिभ सिटिज नेटवर्क’मार्फत भिडियो आदानप्रदान गरी संस्कृति र परम्परा प्रवर्द्धन भइरहेको जानकारी दिए। काठमाडौँ महानगरको यो पहललाई सराहनीय भन्दै उनले भने, “हाम्रो नगरमा हरेक दुई वर्षमा फेस्टिभल आयोजना हुन्छ, जसले सदस्य नगरहरूलाई एउटै मञ्चमा ल्याउने काम गर्छ।”

उक्त भेटघाट कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उच्च अधिकारीहरूका साथै फिल्म फेस्टिभलका निर्देशक तथा क्युरेटरहरूको समेत उपस्थिति रहेको थियो।

आजदेखि सुरु भएको ‘काठमाडौँ फिल्म फेस्टिभल’ आगामी दुई दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमहरूसहित सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *