विश्वभर निशुल्क प्रयोगका लागि ‘क्यालिजात्रा’ ले ल्यायो ‘नित्या रञ्जना’ युनिकोड फन्ट

काठमाडौं, चैत ४ । २०७५ साल वैशाख १ गतेबाट सुरु भएको ‘क्यालिजात्रा’ ले आफ्नो सुरुवातीको करीब ६ वर्षपछि एउटा सफलता प्राप्त गरेको छ । काठमाडौं महानगरपालिकाकी उप्रमुख सुनिता डंगोलसहितको टिमले ०७५ सालबाट सुरुवात गरेको ‘क्यालिजात्रा’ ले आज नेपाल कला परिषद्को हलमा एक कार्यक्रमको आयोजना गरी ‘नित्या रञ्जना’ युनिकोड फन्टको विमोचन गरेको छ ।
फन्ट विमोचनसँगै फन्ट डिजाइनर र लिपि विशेषज्ञहरुसँग यहि विषयमा केन्द्रित छलफल कार्यक्रम समेत गरेको छ । फन्ट विमोचन कार्यक्रमको प्रमुख अतिथि पनि डंगोल नै हुनुहुन्थ्यो । डंगोल काठमाडौं महानगरपालिकाको उपप्रमुख बन्नु अघि रञ्जना लिपिको प्रशिक्षकसमेत हुनुहुन्थ्यो । उहाँसहितको अगुवाईमा स्थापना भएको ‘क्यालिजात्रा’ फाउण्डेसनले रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा गहन छलफल गर्दै आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले ‘रञ्जना युनिकोड फन्ट’को आधिकारिक सुरुवात गर्दा रञ्जना लिपिको प्रशिक्षकबाट फेरिएर काठमाडौं महानगरपालिकाको उपप्रमुखको फरक परिचय बनाउनु भएकी डंगोल पनि निकै उत्साहित हुनुहुन्थ्यो ।
उहाँले पोडियममा राखिएको ल्यापटपबाट रञ्जना लिपिमै श्री गणेश लेख्दै फन्टको उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्नुभएकी डंगोलले सम्वोधनका क्रममा पनि लिपि सिक्दादेखि ‘क्यालिजात्रा’ सुरुवातीसम्मका दिनको स्मरण गर्नुभयो । ‘लिपि सिक्नका लागि मात्रै सिकिएन । यति धेरै कोलाहल, यति धेरै प्रश्न, यति धेरै कन्फ्युजन मात्रै होइन अब स्नातक अध्ययनपछि के गर्ने ? के पढ्ने ? भन्ने अन्योल भैरहेका बेला मैले रञ्जना लिपि राम्रो साथी पाएँ,’ ‘उहाँले भावुक हुँदै भन्नुभयो, ‘कोलाहलका बिचमा आफूलाई संयम बनाउने माध्ययम पनि मेरा लागि रञ्जना लिपि बन्यो ।’
दिनभरी काम गरेर थकित भएर घर पुग्दा पनि डंगोलको मनमिल्ने साथी रञ्जना लिपि नै हुने गरेको समेत उहाँले सम्वोधनका क्रममा स्मरण गर्नुभयो । ‘मैले त्यतिबेला रञ्जना लिपि लेख्नका लागि कागजका टुक्रादेखि काठका टुक्रासम्म प्रयोग गरेँ,’ उहाँले भन्नुभयो, ‘रञ्जना लिपि लेख्दै गएपछि यस्तो राम्रो काम आफूले मात्रै सिकेर हुन्छ र ? अब त सिकाउन थाल्नुपर्छ भनेर भावना पैदाभयो । त्यसपछि हामीले कक्षा कोठामा मात्रै बसेर सिकाउने परम्पराको अन्त्य गर्ने भन्दै अरुलाई पनि सिक्ने महत्वकांक्षा जगाउन ‘क्यालिजात्रा’ अभियान सुरुवात गर्यौ ।’
सुरुमा नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएर उत्साहित बनेको त्यहि टिमले बबरमहलको ‘आर्ट काउन्सील’को पहिलो तलामा ‘नित्या रञ्जना’ युनिकोड फन्ट विमोचन विमोचन गर्दैगर्दा डंगोल मात्रै होइन सम्पूर्ण टिमको मुहारमा मुस्कान छाएको देखिन्थ्यो । एकातिर भित्ताभरी रञ्जना लिपिले आर्ट काउन्सिलको हल सुन्दर बनेको थियो थियो भने अर्कोतिर ‘क्यालिजात्रा’ टिमले रञ्जना लिपिमा त्यहाँ उपस्थित भएका हरेकको आग्रहमा कुँदेका लिपिले थप मोहकता थपेको थियो ।
त्यहि मनमोहक माहोलमा हँसिलो मुहारसहित डंगोलले जीवनमा सबै भन्दा बढी आनन्द प्राप्तिको पल ‘क्यालिजात्रा’ सुरुवातीको दिन भएको स्मरण गर्नुभयो । ‘मलाई अहिले पनि आफूले गरेको काममा केही कुरा देखेर, सम्झेर अझै पनि खुशी लाग्छ र एकदमै आनन्द प्राप्ति हुन्छ भने त्यो रञ्जना लिपिको अभियन नै हो,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला राति अवेरसम्म बसेर पाठ्यक्रम बनाएको, ठाउँठाउँमा वर्कसप गर्दा सबैबाट अपार माया र स्नेह पाएको अहिले पनि सम्झना ताजै छ ।’
उहाँले कोभिड–१९ का कारण लामो समय लकडाउन व्यहोर्न बाध्य धेरैलाई ‘भर्चुअल’ माध्यमबाट रञ्जना लिपि सिकाएको पनि स्मरण गर्नुभयो । अभियानकै रुपमा अघि बढाएको ‘क्यालिजात्रा’ ले अन्तराष्ट्रियस्तरमा समेत पहिचान बनाएपछि थप उत्साहित भएको भन्दै लोपोन्मुख अक्षरहरूका क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय संस्था Endangered Alphabets (लोपोन्मुख अक्षरहरू)ले ‘क्यालिजात्रा’ लाई अन्तराष्ट्रियस्तरमा मौलिक लिपिहरुलाई पुनर्जागरण गर्ने अभियानमा योगदान गरेको भन्दै पहिचान गरेको समेत स्मरण गराउनु भयो । ‘अन्तराष्ट्रिय मञ्चहरुमा सहभागी हुँदा रञ्जना लिपिको फन्ट बनाई दिन आग्रह गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यो माग आज पूरा हुँदै गर्दा खुशी लागेको छ । त्यो समयमा हामीले देखेको सपना आज पूरा भएको छ ।’
उहाँले अहिले उपप्रमुख हुँदा पनि धेरैले म्यासेज गरेर रञ्जना लिपिबारे सोध्ने गरेको भन्दै अव फन्ट नै तयार भएपछि थप सजिलो हुने बताउनुभयो । ‘जापना पुगेका बेला हामीले युनिकोडसँगै देवनागरिक लिपी र रञ्जना लिपीको एपको पनि विकासबारे पनि छलफल गर्यौ,’ डंगोलले भन्नुभयो, ‘अहिले त्यो छलफलले समेत पूर्णता प्राप्त गरेको छ ।’
क्यालिजात्रा फाउण्डेशनका अध्यक्ष आनन्द कुमार महर्जनले सुरुसुरुमा लिपिका बारेमा आफूलाई मन लाग्नेहरु मात्रै गएर पढ्ने, सिक्ने चलन भएको भन्दै त्यतिबेलासम्म कक्षा कोठामा मात्रै बसेर सिक्ने चलन रहेको स्मरण गराउनुभयो । ‘विस्तारै त्यो अभियानलाई खुला ठाउँमा ल्याउने प्रयाससँगै खुलाठाउँमा कक्षाकोठा बनायौँ,’ उहाँले भन्नुभयो, ‘ त्यसपछि समूह पनि बढ्दै गयो । इञ्जिनियर, फोटोग्राफर, डिजाइनर सबैले त्यो प्रयोग गर्न थाले र यस्ले विस्तारै ठूलो आकार लिन थाल्यो ।
कतिपयले विस्तारै लिपीको टिसर्ट, औँठी, कुण्डल लगाउने चलन पनि बढ्न थाल्यो । विस्तारै लिपिको व्याग बोक्नेहरु पनि बढ्न थाले । त्योसँगै डिजाइनरहरुले पनि त्यो लिपीको प्रयोग गर्न थाले ।’ अन्तराष्ट्रियस्तरमा एउटा पहुँच बनाएको मौलिक लिपीको संरक्षण, प्रवद्र्धन र पुर्नस्थापना गर्नका लागि फन्ट विमोचनसँगै एउटा खुड्किलो बढाएको महर्जनले उल्लेख गर्नुभयो । ‘क्यालिजात्रा फाउण्डेशन र मित्रराष्ट्र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी ‘एक टाइप’ मुख्य फन्ट विकासकर्ता तथागत विसवास, सारंग कुलकर्णी, पूपुर दात्ये र एक टाइप टोलीको सहयोगमा ‘रञ्जना युनिकोट फन्ट’ विकास गरेको हो,’ महर्जनले भन्नुभयो, ‘यो फन्ट विश्वका लागि निशुल्क रहने छ । यो देवनागरी युनिकोडमा साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबै भन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट हो । जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकूलित छ ।’
महर्जनले हिजोको दिनमा उपयुक्त डिजिटल लिपीको उपलब्धता नभएको भन्दै त्यसले लिपीको प्रयोग बढे पनि प्रयोग गरिएका ठाउँमा गलत स्क्रिप्ट लेखन भइरहेको स्मरण गर्नुभयो । ‘हामीले यसलाई सुधारेर आकर्षक फन्टमा विश्वभर प्रयोग गर्न मल्नेगरी फन्ट लिएर आएका छौं,’ उहाँले भन्नुभयो, ‘अब त्यस्तो समस्या कम हुनेमा आशावादी छौँ ।’
कार्यक्रममा पूर्वराजदूत डाक्टर अञ्जान शाक्यले ‘रञ्जना युनिकोट फन्ट’ कोशेढुंगा भएको भन्दै मेहनतका साथ यो अवस्थासम्म ल्याउने टीमलाई धन्यवाद दिनुभयो । ‘युवाहरुको संकल्पले संस्कृतिको पहिचान संरक्षण र विश्वव्यापीकरणमा योगदान पुग्ने कुरा लिपी लिपी सार्वजनिक भएपछि प्रमाणि भएको छ,’ शाक्यले भन्नुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नै मौलिक लिपीमा भाव प्रकट गर्न सक्ने स्वरुपमा ल्याउनु ठूलो उपलब्धी भएको उल्लेख गर्नुभयो । प्रविधिमा आधारित प्रयोगले लिपी संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ थियो ।
त्यसैगरी कार्यक्रममा भाषाविज्ञहरु, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।
रञ्जना लिपीबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने क्यालिजात्रा फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा रञ्जना लिपीबारे स्व वर्ण, व्यञ्जन वर्ण र अंकहरू कसरीलेख्ने भनेर रञ्जना लिपीमा टाइप गरेर देखाइएको थियो । साथै आर्ट काउन्सिलमा रञ्जना फन्टमा लेखिएका अक्षरको प्रदर्शनीसमेत गरिएको थियो ।