नौ दिन आठ रातसम्म मनाइने बिस्का: जात्रा आगामी मङ्गलबारदेखि सुरूहुँदै

भक्तपुर, २१ चैत । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्का:जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको याेसिं उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यसिङखेलमा याेसिं जात्रा मनाएर साँझ याेसिं ढाल्ने प्रचलन छ । जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरवको रथको आजदेखि छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।

उहाँले आजैबाट भद्र्रकालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताउनुभयो ।

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

“रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो र बलियो डोरी ल्याउन निर्देशन दिएका छाैं । जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गर्नेछ”, उहाँले भन्नुभयो, “५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई वटा याेसिं यसवर्ष दाताले ल्याइएदिएका छन्, यसवर्ष चैत २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपरान्ह ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

यसवर्ष बिस्का: जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले रु ४० लाखको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने बताउनुभयो ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *