ओलीको ३१ पृष्ठे प्रतिवेदनः आगामी यात्रा जोखिमयुक्त, चुनौतीरहित र बिध्नवाधाविहीन छैनन्
ललितपुर, ८ वैशाख । नेकपा (एमाले)को आजबाट सुरु प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा ६ वटा प्रतिवेदशन प्रस्तुत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने वैठकमा सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोगको प्रतिवेदन र निर्वाचन आयोगको प्रतिवेदन पनि प्रस्तुत भएको छ ।
ललितपुरको गोदावरीमा अवस्थित सनराइज हलमा ६ वटा प्रतिवेदन प्रस्तुत भए । भोलि अर्थात आइतबार अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका ६ बुँदामा केन्द्रित भएर समूहगत छलफल हुने एमालेले जानकारी दिएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् प्रथम बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले छलफलका लागि ६ वटा बुँदा प्रस्तुत गर्नुभएको थियो ।
उहाँले प्रस्तुत गरेका ६ वटा बुँदामा पहिलो बुँदा पार्टी सदस्यता नवीकरण, वितरण तथा परीक्षण रहको छ । त्यसैगरी दोस्रोमा प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन रहेको छ भने तेस्रोमा कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङकन रहेको छ ।
चौथोमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण रहेको छ । पाचौँमा आर्थिक सामाजिक रुपान्तरण र जनचासोको विषय छ भने छैटौँमा निर्वाचनमार्फत निर्णयक राष्ट्रिय शक्ति निर्माण गर्ने कुरा रहेको छ ।
ओलीले ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा ओलीले दसौं राष्ट्रिय महाधिवेशनपछिको साढे दुई वर्षको एमाले यात्रा सफल र प्रभावकारी भएको उल्लेख गर्नुभयो । उहाँले इतिहाँसकै प्रतिकुल परिस्थितिलाई सम्हालिएर सामना गरेको भन्दै ओलीले त्यसले प्रतिरोधी क्षमता लाई थप सुदृढ बनाएको उल्लेख गर्नुभयो ।
उहाँले समाजवादी र पुँजीवादी शक्ति बीचको, अग्रगमन र पश्चगमनबिचको, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय आत्मसमर्पणका पक्षधर बीचको एवं समृद्धि बर्बादीका शक्ति बीचको वर्ग सङ्घर्ष जारी नै रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले एमालेको आगामी यात्रा पनि जोखिमयुक्त, चुनौतीरहित र बिध्नवाधाविहीन नरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले हिजोको सत्तागठबन्धनले नेकपा (एमाले)प्रति प्रतिशोध, मुठभेड र निषेधको नीति लिएको भन्दै ओलीले महत्वपूर्ण राष्ट्रिय प्रश्नमा प्रतिपक्षलाई साथमा नलिने मात्रै होइन जानकारी दिने न्युनतम औपचारिकतासम्म पूरा नगरेको पनि आरोप लगाउनु भयो ।
ओलीले हिजोको गठबन्धनले राष्ट्रिय हितमा आघात पुर्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरु गरेको पनि आरोप लगाउनु भयो । ‘हामी त्यसो गर्ने छैनौँ,’ ओलीले भन्नुभयो, ‘मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्षलगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ ।’