ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमण
काठमाडौँ, असोज २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् भने कम्तीमा १६ जना घाइते भएका छन् ।
जापोरिजियाका आवासीय भवनमा रुसी बम खस्दा मानवीय क्षति भएको क्षेत्रीय रक्षा परिषद्का सहअध्यक्ष इभान फेडोरोभले शनिबार जानकारी दिनुभएको छ । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्ष युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन् । यद्यपि, दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन् । पछिल्लो चार दिनमा रुसी बमबारीमा परी ५५ जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा रुसबाट ठूलो परिमाणमा डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गर्नुभएको थियो । उक्त घोषणा युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले अपनाउँदै आएको प्रतिबन्ध र दबाबको नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयाससँग पनि यसलाई जोडेर हेरिएको छ ।
ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउनेछ । त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन, त्यसको केही समयपछि १० लाख टन र छोटो अवधिमा थप ३० लाख टन डिजेल आपूर्ति गरिनेछ । सुरुमा पुटिनसँगको टेलिफोन वार्तामा रुसमा देखिएको प्लेगको शङ्कास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो ।
डिजेल सम्झौताको घोषणाले गत महिना ट्रम्पले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्धसम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ । उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धमा आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने रुसी तेल तथा ग्यासबाट हुने आम्दानीमा रोक लगाउनु थियो ।
सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबाट रुसलाई युद्धका लागि थप आर्थिक स्रोत प्राप्त हुने र युद्ध लम्बिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले रुसले सम्झौताको जवाफ थप आक्रमण र विनाशबाट दिने बताउनुभएको छ ।
वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले सम्झौताको आलोचना गर्दै यसलाई “बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय” भन्नुभएको छ । उहाँका अनुसार यस्तो निर्णयले रुसलाई थप हत्या गर्न, युद्ध लम्ब्याउन, अमेरिकाप्रति कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउनेछ ।
युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुशनरले मियामीमा युक्रेनी अधिकारीहरूसँग भेटवार्ता गरिरहेका बेला डिजेल सम्झौताको घोषणा भएको थियो ।
यस घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले युक्रेनी अधिकारीहरूसँगको वार्तालाई केवल देखावटी प्रक्रियाका रूपमा प्रयोग गरिएको हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ । “मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ । यो पक्कै पनि उचित होइन । साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन”, उहाँले भन्नुभएको छ ।
