मौसम सुध्रिएपछि धौलागिरि आरोहण पुनः सुरु, रोप फिक्सिङ टोली शिखरतर्फ
म्याग्दी, २४ असोज। प्रतिकूल मौसमका कारण स्थगित भएको धौलागिरि हिमालको शरदयामको आरोहण पुनः सुरु भएको छ। मौसममा सुधार आएपछि असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली पुनः शिविरमा पुगेर चुचुरोतर्फ अघि बढेको हो।
विश्वको सातौँ अग्लो ८ हजार १६७ मिटर उचाइको धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्छ। अहिले डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथिसम्म पुगेको सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो।
“हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौँ,” उहाँले भन्नुभयो, “मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ।”
असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएको थियो। त्यसपछि पर्वतारोहीले आरोहण स्थगित गरी फर्किएका थिए। मौसममा सुधार आएपछि आधार शिविरमा रहेको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणको तयारी पूरा गरेर अभियान पुनः सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
उहाँका अनुसार अहिले हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल भएको छ। भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि तुलनात्मक रूपमा कम भएको उहाँले बताउनुभयो।
पर्यटन विभागका अनुसार चालु शरदयाममा धौलागिरि आरोहणका लागि चार समूहका ३६ जनाले अनुमति लिएका छन्। तीमध्ये २६ पुरुष र १० महिला छन्। आरोहण अनुमतिबापत ८२ लाख ४२ हजार ५० रुपैयाँ दस्तुर सङ्कलन भएको विभागले जनाएको छ।
पर्वतारोहीसँग समन्वय गर्दै आउनुभएका म्याग्दीको दानाका व्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका आरोहण टोली पनि धौलागिरि आधार शिविर पुगिसकेको जानकारी दिनुभयो।
गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए। छिनछिनमा परिवर्तन भइरहने मौसम धौलागिरि आरोहणको प्रमुख चुनौती मानिन्छ। अन्य हिमालको तुलनामा यहाँको आरोहण बढी कठिन र जोखिमपूर्ण मानिन्छ।
