च्याङ्ग्रे पोखरीको सौन्दर्यीकरणदेखि झोलुङ्गे पुलसम्म, फेरिँदै भोजपुरको च्याङ्ग्रे

भोजपुर, २४ असोज। पर्यटकीय तथा भौतिक पूर्वाधार विकासले भोजपुरको पौवादुङमा गाउँपालिकास्थित च्याङ्ग्रे क्षेत्रको स्वरूप फेरिँदै गएको छ। ऐतिहासिक च्याङ्ग्रे पोखरीको सौन्दर्यीकरण, झोलुङ्गे पुल निर्माण, सडक कालोपत्रे र बजार व्यवस्थापनका कामले यस क्षेत्रलाई पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने आधार तयार गरेको छ।

स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित योजनाहरू सम्पन्न हुँदै जाँदा च्याङ्ग्रे बजार व्यवस्थित बन्दै गएको स्थानीयवासी बताउँछन्। बजारको मुख्य भागमा रहेको ऐतिहासिक च्याङ्ग्रे पोखरीको पुनःनिर्माण तथा सौन्दर्यीकरण गरिएको छ। पोखरी वरिपरि पक्की पर्खाल र सुरक्षा घेराबारा निर्माण गर्नुका साथै किनारमा पैदलमार्गसमेत बनाइएको छ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार पोखरीमा जलविहारका लागि पानीबोटसमेत सञ्चालनमा ल्याइएको छ। पोखरीको मनोरम दृश्यले स्थानीयवासी तथा बजारमा आउने आगन्तुकलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो। विशेषगरी साँझपख टहलिनका लागि यो क्षेत्र लोकप्रिय गन्तव्य बनेको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरीनजिकै झोलुङ्गे पुल पनि निर्माण गरिएको छ। पुलबाट बजार क्षेत्रको दृश्यावलोकन गर्न तथा तस्बिर र श्रव्यदृश्य सामग्री खिच्न पर्यटक र स्थानीयवासी पुग्ने गरेका छन्।

गाउँपालिकाको केन्द्रसमेत रहेको च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताउनुभयो। पोखरीको संरक्षण, बजारको सौन्दर्यीकरण र आन्तरिक पर्यटन प्रवर्द्धनसँगै यहाँको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर पोखरी किनारमा पञ्चकन्या मन्दिर निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो।

“हामी च्याङ्ग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ। आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ।”

बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्ज्याङदेखि च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रे हुनुका साथै बजार क्षेत्रमा ढल तथा नाली व्यवस्थापन गरिएपछि बजार व्यवस्थित बन्दै गएको स्थानीय बालिका खत्रीले बताउनुभयो। स्थानीय सरकार स्थापना भएपछि बजार क्षेत्रको विकासले गति लिएको उहाँको भनाइ छ।

विद्यालय क्षेत्रको विकास, गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा अन्य संरचनागत सुधारले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा विकास गर्न सहयोग पुगेको छ। खेलकुद पूर्वाधार विस्तारका लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ।

स्थानीयवासीका अनुसार पर्यटकीय पूर्वाधार विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। यसले स्थानीय व्यापार, होटल व्यवसाय र कृषि उपजको बजारीकरणमा समेत सहजता ल्याएको उनीहरूको भनाइ छ।

पूर्वाधार विकासलाई निरन्तरता दिन सके च्याङ्ग्रे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना थप उजागर हुनुका साथै स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *