कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीचको छलफल निष्कर्ष विहिन
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल निष्कर्ष विहिन टुङ्गिएकाे छ ।
दुई शीर्ष नेताबीचकाे छलफलमा संसदीय समितिको कार्यादेशका विषयमा कुरा नमिलेको बताइएको छ ।
बैठकमा सभापति देउवालाई छानबिन समितिको टिओआरमा गृहमन्त्रीको नाम नराखी कम्पनीको नाममात्र उल्लेख गरेर जान प्रधानमन्त्रीले आग्रह गर्नुभएकाे मा उहाँकाे प्रस्ताव अस्विकार गरेकाे बुझिएकाे छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले कम्पनीको नाम राखेपछि छानबिन गर्दै जाँदा संलग्न व्यक्ति तानिने बताउनुभएकाे थियाे । जवाफमा सभापति देउवाले कम्पनीको नाम मात्रै राख्दा व्यक्ति भन्दा पनि कम्पनी जिम्मेवार हुने भन्दै गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्विकार गर्नुभएकाे बताइएकाे छ ।
संसदमा देखिएको गतिरोध अन्त्यका लागि बुढानिलकण्ठ पुग्नुभएका प्रधानमन्त्रीले पहिले सभापति देउवासँग वान टु वान भेट गर्नुभएकाे थियाे । त्यसपछि दुई नेताको छलफलमा कांग्रेसका केही नेता पनि सहभागी हुनुभएकाे थियाे ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै छानबिन गर्नु पर्ने माग गर्दै आएको छ ।