क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा, शीर्ष चार टोलीले विश्वकप छनोट खेल्ने
काठमाडौँ, ५ कात्तिक । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोली सहभागी हुनेछन्।
नेपालले घरेलु मैदानमा हुने प्रतियोगितामार्फत लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर पाएको छ। शीर्ष चारभित्र पर्न सके नेपालले सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ।
यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकाअनुसार नहुने भएको छ।
क्यानका सचिव पारस खड्काका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको शृङ्खलाको नयाँ तालिका तय गरिनेछ।
