रातभर मनाएर सम्पन्न भयो तलेजुको खड्ग तथा सेतो घोडा जात्रा
पायःद्यो जात्रा
काठमाडौँ, कार्तिक ५ । विजयादशमीको मध्यरातदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजु भवानीको बाहन सेतो घोडासम्बन्धी जात्रा एकादशीका दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा जात्रा मनाएका नवदुर्गा भवानीका देवगण राति ब्रह्मायणीबाट भक्तपुर नगरका विभिन्न टोल परिक्रमा गर्दै दरबार क्षेत्र पुगेपछि जात्रा सुरु भएको हो । परम्पराअनुसार नवदुर्गा भवानीले तलेजु भवानीको दर्शन गरी ढोग गर्ने र तलेजुबाट मन्त्रसिद्धि प्राप्त गर्ने विधिपछि जात्रा सम्पन्न भएको हो ।
जात्राका क्रममा नवदुर्गाका देवगण राति नै देवगृहतर्फ प्रस्थान गरेका थिए । तलेजु भवानीलाई दरबार क्षेत्रस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा गराई ढोग गरेपछि देवगृहमा प्रवेश गराएर बिहान जात्रा सम्पन्न गरिएको हो ।
खड्ग जात्राका क्रममा तलेजुका राजोपाध्यायले पायःद्यो अर्थात् तलेजु भवानीको प्रतीक खड्गलाई काँधमा बोकेर तलेजुको मूलचोकबाट बेको चोकसम्म लैजाने परम्परा छ । त्यहाँ सर्वसाधारणले पूजा तथा दर्शन गर्न पाउँछन् ।
तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार विजयादशमीको मध्यरातमा तलेजु आगम घरको खँ कुथि कोठामा तान्त्रिक विधिबाट पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरूप पायःद्यो मूल आचाजु तथा पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा सुरु हुन्छ ।
संस्कृतिविद् प्रकाश कायस्थका अनुसार तलेजु भवानीको साक्षात् रूप मानिने पायःद्यो देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिराई जात्रा मनाउने परम्परा छ । राति तलेजु भवानीलाई दरबार क्षेत्रस्थित स्वर्णद्वारमा ल्याएपछि प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ । तलेजुबाट मन्त्रसिद्धि प्राप्त गरेपछि नवदुर्गा देवगणसहित पायःद्यो यात्रा मार्गमा अगाडि बढ्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो वा तल्लो क्षेत्रमा जात्रा सञ्चालन गर्ने परम्पराअनुसार यस वर्ष भक्तपुरको तल्लो क्षेत्रमा जात्रा गरिएको हो । सो क्रममा खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढीलगायत स्थानको परिक्रमा गरी नवदुर्गा देवगणले तलेजु भवानीको दर्शन गरेका थिए ।
विजयादशमीको राति तलेजु भवानीका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइत पूजा तथा विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु हुने परम्परा छ । जात्राअघि सेतो घोडालाई भेडाको बलि दिएर तलेजुको मूलचोकबाट बाहिर निकाली भक्तपुर नगर परिक्रमा गराउने गरिन्छ । ब्रह्मायणी र तलेजु भवानीलाई नगरका विभिन्न क्षेत्रमा परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछिपछि लगेर जात्रा मनाउने परम्परा रहेको छ ।
यद्यपि, तलेजु भवानीको बाहन सेतो घोडासहितको जात्रा विगत दुई वर्षदेखि रोकिएको छ । जात्रा रोकिएको विषयमा आयोजकका तर्फबाट आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
