विपद्का कारण गण्डकी र कर्णालीका विभिन्न सडक प्रभावित

सडक अवरुद्ध

काठमाडौँ,  कात्तिक ५ । बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । केही सडक खण्डमा यातायात एकतर्फी सञ्चालनमा रहे पनि कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । पहिरोका कारण सडक साँघुरिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको हो ।

यसैगरी, गोरखाको आरुघाट गाउँपालिका २, ३ र ४ तथा नयाँ पुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सोतिगाउँस्थित फलामे पुल बगाएपछि आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गोरखाकै आरुघाट गाउँपालिका १ स्थित नयाँपुल क्षेत्रमा बाढीले सडक प्रभावित बनाउँदा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् । सडकको अवस्था सामान्य नहुँदा ठूला सवारीसाधनको आवागमनमा समस्या भएको छ । त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका ५ ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध तथा क्षतिग्रस्त भएपछि यात्रु र सवारीसाधनको आवागमनमा कठिनाइ भएको छ ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायातलाई सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरी प्रयास भइरहेको छ । प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *