अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर, फैसला धाँधलीपूर्ण भएको प्रतिक्रिया

काठमाडौं, १८ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाकाे अदालतले फौजदारी मुद्दामा दोषी ठहर गरिएकाे छ । न्यु योर्क ट्रायल कोर्टमा भएकाे जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्धलाई दबाउन लाखौं डलर दिएको आरोप लागेका ट्रम्प दोषी ठहर भएका हुन् ।

अमेरिकाका ४५ औं राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति बनेका छन् । ट्रम्प आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार समेत हुन् ।

अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचनका बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको आन्तरिक सम्बन्ध लुकाउनकै लागि अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण राखेको सहितका अन्य ३४ मुद्दामा दोषी ठहर गरेको छ । झण्डै ६ हप्तासम्म चलेको बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको हाे ।

फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताए । अदालतले दोषी ठहर गरेपनि आगामी निर्वाचनमा जनताले सही फैसला गरेर चुनाव जिताउने बताए । उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए ।

अमेरिकी कानुन अनुसार उनलाई आगामी चुनावमा कुनै अवरोध नहुने बताइएको छ । कानुन अनुसार उमेद्वार हुन अमेरिकामा जन्म भएको हुनुपर्ने, कम्तिमा १४ वर्षयता अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, ३५ वर्ष उमेर पुरा गरेको जो कोही पनि चुनाव लड्न पाउने नियम छ ।