राष्ट्रियसभाको आजको बैठकमा विधेयक संशोधन प्रस्ताव स्वीकृत
काठमाडौँ, ४ असार । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकबाट उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरु भाग लिन चाहनुभएन ।
त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने पेस गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष दाहालले गर्नुभएको प्रस्ताव सहमतिले पास भएको घोषणा गर्नुभयो ।