फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित

काठमाडाैं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएकाे छ ।

बिहीबार टी- २० विश्वकपमा सहभागी भएर स्वदेश फर्कनुभएसंगै आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न सकिएन।

उहाँले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउनुहुँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयाे ।

उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयाे ।