सत्ता समीकरण परिवर्तन हुने भएसँगै बढ्याे सेयर बजार

काठमाडाैं, १८ असार । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उछाल आएकाे छ ।सोमबार मध्यरातमा भएको देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिका कारण यस दिनको शेयर बजार प्रभावित भएको हो।

जसका कारण यस दिन शेयर बजार खुलेको १ मिनेट २३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। सोपश्चात खुलेको बजार १६ सेकेण्डमा नै अर्को एक प्रतिशत बढेर शेयर कारोबार पुनः ४० मिनेटका लागि बन्द भयो। सोलगतै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन। यद्यपि, बजार दिनभरी नै सकारात्मक रह्यो।

मंगलबार नेप्से परिसूचक ४७.०४ अंक बढेर २१००.४३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१८ अंक बढेको छ।

नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ६० हजार ७२० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९८ रुपैयाँ बढेर १ हजार २४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्तको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।