आज हरिशयनी एकादशी : तुलसी रोपेर मनाइँदै
काठमाडौं, २ साउन । आषाढ शुक्ल एकादशी अर्थात आज हरिशयनी एकादशी घर घरमा तुलसी रोपेर मनाइँदै छ ।
सनातन हिन्दु धर्मावलम्बीले आज आँगनमा रहेकाे तुलसीकाे मठमा तुलसीकाे बिरुवा राेप्नेकाम गरिन्छ
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट उम्रेकाे तुलसीको बिरुवा आज एकादशीका दिन पारेर तुलसी मोठमा सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने धार्मिक मान्यता छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ ।
कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुनेछ । यो चतुर्मास अवधि भर विशेष मांगलिक कार्य गर्न नहुने मान्यता छ ।
यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठ गरिन्छ । यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्ने गर्छ ।
धेरै अक्सिजन फ्याँक्ने वनस्पति तुलसीको महत्व आयुर्वेदिक औषधिका रूपमा समेत उपयोग गरिन्छ ।