सत्ताइस सय ३५ अंक पुगेर झरेकाे सेयर बजारमा १९ अर्ब काे कारोबार

काठमाडौं, १४ साउन । सत्ताइस सय ३५ अंक पुगेकाे नेप्से परिसूचक घटेर बन्द भएकाे छ ।

सोमबार नेप्से परिसूचक २०.६३ अंक घटेर बन्द भएकाे हाे । सोमबार नेप्से २६६१.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९१ अंक घटेको छ।

यस दिन नेप्सेमा करेक्सन भएपनि काराेबार भने बढेको छ। अघिल्लो कारोबार दिन १५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको २ लाख २२ हजार ६६० पटकको कारोबारमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार रकम ३९ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको छ।