शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
काठमाडौँ, १७ साउन । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो ।
दुई साताअघि जन्मथलो फर्किनुभएका उहाँले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनुभएको थियो । गुरुदेव निकट मानिनुहुने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाड्नु भएको थियो ।
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहनुभएको थियो ।
दिवङ्गत हुनुभएका कामतको श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिनुभयो । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात हुनहुन्छ ।