सहकारी पीडितले गरे मुखमा टेप लगाएर प्रदर्शन
काठमाडौं, १७ साउन । सहकारी पीडितहरूले आज काठमाडौंको रत्नपार्कमा मानव साङ्लो बनाइ मुखमा टेप टाँसेर प्रदर्शन गरेका छन् ।
समस्या समाधान गर्न पटक-पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा बिहीबार मानव साङ्लो बनाएर मुखमा टेप टाँसी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरूले रिले अनशन गरेका थिए ।
रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरूको गुनासो छ ।