मुलुकका सम्भावनाप्रति सकारात्मक सोच अपरिहार्य : राष्ट्रपति पौडेल
काठमाडौँ, २८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माणमा सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी भावनाको विकास नै आजको आवश्यकता भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्ताे बताउनुभएकाे हाे ।
“दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ । हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । राज्यको सर्वाङ्गिण विकासमा युवाको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्न २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गर्नुभयो ।
नवौँ पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनावद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । विसं २०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति, २०६६ जारी गरिएको थियो । पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भएको थियो ।
युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका संवाहक र राष्ट्रको अमूल्य सम्पत्ति रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
सोही कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताउनुभयो । यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवसले पनि यीनै दुई कुरालाई जोड दिएको उहाँको भनाइ थियो ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासिय संयोजक हाना सिङ्गर हम्दीले विश्वभरका युवालाई जोड्ने उद्देश्यले आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘समिट अफ दि फ्युचर’का लागि यो सम्मेलनमा उठान हुने विषय र जारी हुने घोषणापत्र महत्वपूर्ण रहेको बताउनुभयो । जलवायु परिवर्तनका मुद्दा र दिगो विकासका लागि युवाले अग्रपङ्क्तिमा रहेर वकालत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सीप र प्रविधि विकासमा लगानीसँगै लैंगिक समानता र जलवायु परिवर्तनका मुद्दामा गम्भीर हुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले युवालाई प्रवर्दन गर्ने सरकारको नीति तथा कार्यक्रम हुने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र मुख्यगरी आन्तरिक रोजगारी सिर्जनामा समस्या भएको बताउनुभयो ।
युवालाई मुलुकको सम्पत्तिका रुपमा लिइनुपर्ने उल्लेख गर्दै उपप्रमुख डङ्गोलले पछिल्लो समय युवाको राजनीतिमा सकृयताले आशाको बिम्ब देखाएको बताउनुभयो ।