त्रिवि एमबिएस प्रश्नपत्र ‘लिक’ प्रकरण : सिआइबीद्वारा अभियुक्तको पहिचान सार्वजनिक
काठमाडौँ, १० साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्नातकोत्तर तह (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र बाहिर ल्याउने (लिक गर्ने) व्यक्तिको पहिचान सार्वजनिक गरेको छ ।
सिआइबीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि–१ मा बसोबास गर्दै आएका ३३ वर्षीय सन्दीप सिंह यस प्रकरणमा संलग्न रहेका छन् ।
यही साउन ८ गते सञ्चालित एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको थियो । अनुसन्धानका क्रममा ‘एमबिएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र पठाइएको पाइएको छ ।
फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले उक्त ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएपछि यो घटना बाहिर आएको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिविले यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो ।
प्रहरीले यसअघि शङ्कास्पद देखिएका अन्य २–३ जनालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर, उनीहरूको संलग्नता पुष्टि हुन नसकेपछि प्रहरीले उनीहरूलाई छोडिसकेको छ । सिआइबीले सिंहमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।