प्रहरीको गोली लागेर एकको मृत्यु भएपछि सुनसरीको देवानगञ्ज क्षेत्रमा कर्फ्यु
सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि लागू हुने गरी सुनसरीका पाँचवटा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । झडपका क्रममा अन्य ८ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार शान्ति सुरक्षा कायम गर्न र थप दुर्घटना हुन नदिन हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिमा हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न र सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
हरिनगरा बजार: पूर्वमा नूनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म ।
भुटाहा बजार: पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म ।
कप्तानगन्ज बजार: पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म ।
घुस्की बजार: पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म ।
देवानगञ्ज बजार: पूर्वमा मुसहर टोल (विराटनगर जाने बाटो), पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्म ।
आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि युवाहरूको एक समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही समयमा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गरेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । सामान्य भनाभन झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रशासनको दाबी छ ।
घटनापछि राति करिब १२ बजे बसेको जिल्ला सुरक्षा समितिको बैठकले साम्प्रदायिक सद्भाव कायम राख्न हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रभरि निषेधाज्ञा र मुख्य बजारहरूमा कर्फ्यु लगाउने निर्णय गरेको हो । हाल ती क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ ।