सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
सुनसरी, ११ साउन । बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेको समुहलाई अर्को समूहले होहल्ला भएको भन्दै विरोध गरेपछि सुरु भएको विवाद झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो । झडपमा ८ जना प्रदर्शनकारी घाइते भएका छन् भने ८ जना प्रहरी घाइते भएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार दुईपक्षबीचको झडपलाई नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । मेहता देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका बासिन्दा हुन् ।
कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।