‘ब्लु ल्याण्डस्केप’ को संरक्षण र भूमिगत जल भण्डारको पुनर्जीवनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलको नयाँ अभियान

काठमाडौँ,  साउन १० । काठमाडौँ उपत्यकाको सभ्यता पानीसँग जोडिएको छ। तर, बढ्दो सहरीकरण र कंक्रिटको विस्तारले यहाँका प्राचीन ढुङ्गेधारा, पोखरी र जमिनमुनिका पानीका स्रोतहरू सुक्दै गएका छन्। काठमाडौँलाई फेरि ‘पानीको सहर’ बनाउन र भविष्यमा आउन सक्ने जल संकटलाई टार्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एउटा वैज्ञानिक अभियानको नेतृत्व लिनुभएको छ।

‘काठमाडौँमा घट्दै गइरहेको पानीको सतहलाई पहिले स्थिर बनाऔँ र त्यसपछि यसलाई बढाउने दिशामा अघि बढौँ ।’ कार्यवाहक प्रमुख डंगोलले महानगरका विभागीय प्रमुख र विज्ञहरूसँगको विशेष बैठकमा भन्नुभयो । यो भनाइले मात्र पुग्दैन, उहाँले यसलाई ‘कार्यालयको काम’ भन्दा माथि उठेर ‘आफ्नै व्यक्तिगत दायित्व’ सम्झिएर काम गर्न कर्मचारीहरूलाई स्पष्ट निर्देशन समेत दिनुभएको छ ।

आकाशे पानी: समस्या होइन, समाधान
साउन ५ गते माइतीघरको डुबान अनुगमन गर्दा डंगोलले एउटा कुरा प्रष्टसँग बुझ्नुभएको थियो  ।  सडकमा बग्ने पानी समस्या मात्र होइन, यो त जमिन पुनभरण गर्ने एउटा ठूलो अवसर पनि हो । सोही पृष्ठभूमिमा आयोजित परामर्श बैठकमा वातावरण तथा जलप्रणाली विज्ञहरूले काठमाडौँलाई २७ किलोमिटर लामो सुरुङबाट आउने मेलम्चीको पानीमा मात्र निर्भर नगराउन सुझाव दिएका छन् ।

बैठकमा डंगोलले ‘ब्लु ल्याण्डस्केप’ (पानीमा आधारित सहरी संरचना) मा आधारित प्रणाली जोगाउन महानगरका सबै विभागहरू पूर्वाधार, वातावरण, शिक्षा, सम्पदा र सूचना प्रविधिलाई एकै ठाउँमा उभ्याउनुभएको छ। ‘यो इच्छा लागे गर्ने वा नलागे नगर्ने विषय होइन, यो जैविक विविधता र मानव सभ्यता बचाउन अनिवार्य रूपमा पूरा गर्नुपर्ने दायित्व हो ।’ डंगोलको दृढ अडान छ।

विज्ञको सुझाव: काठमाडौँको ‘कालो माटो’ र जल भण्डार
बैठकमा हिति विज्ञ पद्मसुन्दर जोशीले काठमाडौँको एउटा अनौठो विशेषता औँल्याउनुभयो, यहाँको जमिनमुनि रहेको ‘कालो माटो’को सतह। संसारका थोरै सहरमा मात्र पाइने यस्तो भू-बनोट पानी सञ्चयका लागि अत्यन्त प्रभावकारी हुन्छ। विज्ञहरूले चेतावनी दिएका छन् कि यदि मेलम्चीको सुरुङमा केही प्राविधिक समस्या आएमा वा जलवायु परिवर्तनले स्रोत सुकाएमा काठमाडौँ काकाकुल हुनेछ। त्यसैले, आकाशे पानी संकलन र जमिन पुनभरण नै दीर्घकालीन विकल्प हुन् ।

कार्यवाहक प्रमुख डंगोलले विज्ञहरूको सुझावलाई आत्मसात गर्दै ‘डिप बोरिङ’ लाई निरुत्साहित गर्ने र सहरमा भएका रसायनहरू जमिनमुनि नछिर्ने गरी सुरक्षित विधिबाट पानी पुनभरण गर्ने योजना अघि सार्नुभएको छ ।

एकीकृत कार्यशैली र भविष्यको खाका
डंगोलको नेतृत्वमा भएको यो छलफलले महानगरका विभिन्न विभागहरूबीचको ‘पर्खाल’ भत्काउने प्रयास गरेको छ । सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग र वातावरण विभागले अब मिलेर ‘क्याचमेन्ट एरिया’ को आधारमा काम गर्नेछन् । यसअघि गरिएका अध्ययनहरूको विश्लेषण गर्दै नयाँ प्रविधि र नागरिक सहभागिताको ढाँचा तयार पारिनेछ ।

बैठकमा जल संरक्षणविज्ञ इञ्जिनियर विश्वप्रकाश अमात्य, सुदर्शन राजभण्डारी लगायतले पानी पुनभरणका लागि आवश्यक प्राविधिक संरचना र यसमा नागरिकलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा कार्यवाहक प्रमुखलाई मार्गचित्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको यो सक्रियताले एउटा कुरा स्पष्ट पारेको छ, काठमाडौँले अब पानीका लागि केवल बाहिरी स्रोतको मुख ताक्ने छैन, बरु आफ्नै जमिनमुनिको जल भण्डारलाई ब्युँझाएर ‘सस्टेनेबल सिटी’ (दिगो सहर) को जग बसाल्नेछ। डंगोलको यो ‘ब्लु भिजन’ सफल भएमा काठमाडौँका भावी पुस्ताले पानीको अभावमा छटपटाउनु पर्ने छैन ।