लुम्बिनी र सुदूरपश्चिमसहितका प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ११ साउन । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरिको मौसममा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बादल लाग्ने देखिन्छ । पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
विशेष गरी कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराईका एक–दुई स्थानमा आज दिउँसो भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ ।