नेप्से ३० महिनाकै उच्च, कारोबार रकम २७ अर्ब नाघ्याे
काठमाडौं, २८ साउन । सेयर बजारमा साेमबार उच्च रेकर्ड कायम भएकाे छ । हिजो आइतबार बनाएकाे रेकर्ड सोमबार नै तोडिएको हाे ।
आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएर उच्च रेकर्ड कायम भएकाे सेयर बजारमा यस दिन २७ अर्बभन्दा बढीको शेयर किनबेच भएर अर्काे रेकर्ड कायम भएकाे हाे ।
साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। आइतबार साढे ९४ अंक बढेको नेप्से, यस दिन ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।
सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ।