गठ्ठाघर दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत, ओखलढुंगाका उत्तम कोइराला भएकाे पुष्टी

काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।

भक्तपुर प्रहरी परिसरका अनुसार दुर्घटनामा ज्यान गुमाउने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेकाे जानकारी गराएको छ।

दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।

त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो।

शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेकाे प्रहरीले जनाएकाे छ ।

अन्दाजी ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ। काठमाडौँकाे कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार ठक्कर दिएपछि चालक ट्रककाे टायर मुनी परेर केही मिटर लछारेको थियो। घटनास्थल हेर्दा शवकाे अवस्था क्षतविक्षत रहेकाे थियाे ।