राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन

लुम्बिनी, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकार, सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो ।

एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल रु २० करोड ९३ लाखमा निर्माण गरिएको हो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो ।