त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालद्वारा ३७ रनले ओमान पराजित
काठमाडौ, १४ असाेज । त्रिकोणात्मक टी-२० आई सिरिजमा आइतबार राती ओमानलाई ३७ रनले हराउँदै नेपाल विजयी भएकाे छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो। टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो।
नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो।
गुल्सन र कुशल भुर्तेलबीच छैटौँ विकेटका लागि ४.३ ओभरमा ६१ रनको साझेदारी भएको थियो। ओमानलाई १९.१ ओभरमा अलआउट गर्न करण केसीले ३ तथा कुशल भुर्तेल र गुल्सन झाले २/२ विकेट लिए।
रिजन ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे। गुल्सन प्लेयर अफ दी म्याच घोषित भए। यसअघि शृंखलाको पहिलो खेलमा नेपाल शनिबार राती क्यानडासँग पराजित भएको थियो।