हरियो सिङ भएका खसीबोका मात्र खरिद गर्न पशु सेवा विभागकाे सुझाव

काठमाडौँ, २० असोज । दसैँका लागि भित्रिएकाे खसीबाेकामा हरियो सिङ भएका खसीबोका मात्र खरिद गर्न पशु सेवा विभागले सर्वसाधारणमा जानकारी दिइएकाे छ ।

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको पनि जनाएकाे छ ।

काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेकाे अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले खसीबोकाकाे स्वास्थ्य परीक्षण गर्दा स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो ।