काठमाडौं – हेटौंडा जोड्ने कान्ति लोकपथसहित सबै सडक पूर्णरूपमा सञ्चालनमा

काठमाडाैं, २२ असोज । काठमाडाैं र हेटाैंडा जाेड्ने कान्ति लोकपथसहित सबै सडक आजदेखि पूर्णरूपमा सञ्चालनमा आएकाे छ ।

मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएपछि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा आएकाे हाे । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।

असोज १२ गते आएकाे बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् ।

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए । कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो ।