अमेरिकालाई हराउँदै नेपालले जित्यो दोस्रो टी २० सिरिज

काठमाडौं, ४ कात्तिक । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि एक खेलअगावै जितेको छ । आइतबार बिहान डलासमा भएको दोस्रो टी२० खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हाे ।

तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सुपर ओभरमा जिताउन महत्वपूर्ण भूमिका खेले । अमेरिकामाथि रोमाञ्चक जितपछि नेपालले तीन खेलको सिरिजमा २-० को अग्रतासहित एक खेलअगावै सिरिज आफ्नो पोल्टामा पारेको हाे ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रन लिए ।

त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने ।