रास्वपाको आह्वानमा पोखरेली जनताको अस्वीकार, रविको छवि जोगाउने जिजीविषामा रातोबत्ती

काठमाडौं, ७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पक्राउ परेपछि पोखरा हिरासतमा छन् । काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार पोखरा लगिएको हो । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि लामिछाने पक्राउ परेका हुन् ।
तर, रास्वपा कार्यकर्ता आफै न्यायलय जस्तो गरी अनुसन्धानलाई नै प्रभावित पार्ने गरी पोखरामा दिनहुँ आन्दोलन गर्दै आएका छन् । कानुनी राज्यको समेत उपहास गर्दै रास्वपा कार्यकर्ताले निर्लज्ज आन्दोलन गर्न थालेपछि रास्वपा मात्रै बद्नाम भएको छैन । सारा शक्ति लगाउँदा पनि आन्दोलन उठ्न नसकेपछि रास्वपा नेताहरु अहिले सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि विवादित व्यक्तिको बचाउँका लागि सडकमा आउन आह्वान गर्दै घरदैलो गर्न थालेका छन् ।
आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै उनीहरुले घरदैलो गर्न थालेपछि धरातल विना उम्रिएको पार्टीको आयू र हावा भरेको बेलुनको उडान उस्तै हुनेरहेछ भनेर पोखरेली जनताले समेत रास्वपा आन्दोलनको खिसिट्युरी गर्न थालेका छन् । एकातिर उनीहरुको घरदैलो कार्यक्रमले सहरकारी पीडितहरुलाई थप पीडा दिएको छ भने अर्कोतिर रास्वपाको छवि रविको सति जाँदा ओरालोओरालो झर्दै जान थालेको छ ।
कुनै समय जनतालाई भ्रम पैदा गरेर हरेक गलत क्रियाकलापको ढाकछोप गर्दै आएको रास्वपा सहकारी काण्डमा भने एकपछि अर्को गर्दै नाङ्गेझार बन्न थालेको छ । जनतालाई भेडा सम्झेर आफ्ना सबै गलत क्रियाकलापमा पनि ढाल बनेर छोपिदिनु पर्ने हैरानी एकपछि अर्को काण्डमा रास्वपा र अझ त्यसमा पनि सभापति लामिछानेले दिन थालेपछि पछिल्लो समय सो पार्टीका आह्वानलाई पनि जनताले वेवास्ता गर्न थालेका छन् । लामिछाने पक्राउ परे लगत्तै रास्वपाले हरेक जिल्लाबाट कम्तिमा १ सयका दरले कार्यकर्तालाई पोखरा आउन आह्वान गरेको थियो । तर, रास्वपाको आह्वानले फेल खाएपछि पोखरा केन्द्रित प्रदर्शनमा निकै कमजोर बन्दै आएको छ ।
दसौँ हजार कार्यकर्ता पोखरामा उतारेर शक्ति प्रदर्शन गर्ने रास्वपाको रणनीतिले पूर्णरुपमा फेल खाएपछि अहिले उनीहरु आत्तिएर विभिन्न हर्कतहरु गर्न थालेका छन् । सुरुमा हरेक जिल्लाबाट कम्तिमा १ सय बढी कार्यकर्ता पोखरा पठाउन उर्दी जारी गरेको रास्वपा अहिले पोखरेली जनताले प्रदर्शनमा सहयोग नगरेको भन्दै घरदैलोमै पुगेर आफ्ना कार्यकर्ता बोलाउन थालेका छन् ।
कहिले आफ्ना कार्यकर्ता भेट्ने त कहिले नागरिक अगुवा र समर्थकहरु खोज्ने अभियानमा केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की, रमेश प्रसाईं, मनिष झा, हरि ढकाललगायत लागेका छन् । तर, उनीहरुको हारगुहारलाई समेत पोखरेलीले साथ नदिएपछि उनीहरु आन्दोलनलाई उत्सव जस्तो बनाएर भीड जम्मा गर्ने रणनीतिमा लागेका छन् । अहिले पनि पोखराको रास्वपाको आन्दोलन हेर्ने हो भने आन्दोलन भन्दा पनि उत्सव जस्तो देखिएको भन्दै धेरैले खिसिट्युरी गर्न थालेका छन् ।
‘रविको छवि जोगाउने जिजीविषामा रास्वपाको शक्ति अहिले पोखरामा केन्द्रित भएको छ,’ एक पोखरेलीले भने, ‘तर, पोखरेली जनताले गलत गतिविधिको छानविनमा पक्राउ परेका लामिछानेका पक्षमा उत्रिन नसक्ने सन्देशसहित रास्वपाको आन्दोलनमा आउन गरेका आह्वानलाई रातोबत्ती देखाइदिएका छन् ।’ आन्दोलनमा फेल्फी खिच्ने, अँगालो हाल्ने, चुम्वन गर्ने, चिच्याउने जस्ता हर्कत रास्वपाका नेताहरुले मञ्च र कोणसभाहरुमा देखाउन थालेपछि ‘रित्तो गाग्रीको बजाई धेर’ भन्ने उखानलाई रास्वपाले चरितार्थ गरेको भन्दै उडाउन थालेका छन् ।
रास्वपाको आन्दोलन दिनप्रतिदिन फितलो बन्न थालेपछि १० वटा समूह बनाएर घरदैलोमा खटाउँदा पनि त्यसले समेत उपलब्धि हाँसिल गर्न नसकेपछि विपक्षीहरूले रणनीति बनाएर आफ्नो आन्दोलनमा उपस्थित कम भएको फितलो तर्क गर्न थालेका छन् ।
अझ रमाइलो त के भने आन्दोलनका लागि भनेर विभिन्न जिल्लाबाट आएका रास्वपा कार्यकर्ता आन्दोलनमा भन्दा घुमिफर र मदिरा सेवनमा बढी मस्त बन्न थालेपछि रास्वपा स्वयंले आन्दोलन बाहेकका अरु तस्बिर नहाल्नु भनेर कार्यकर्तालाई नयाँ उर्दी जारी गर्न बाध्य भएको छ । म्यासेज नै पठाएर रास्वपाले यस्तो उर्दी जारी गरेपछि रास्वपाको हविगत थप प्रष्ट भएको छ ।
‘पोखरामा आएका साथीहरु आन्दोलन बाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’
विगत २ बर्षदेखि रास्वपा केही महिना बाहेक सरकारमा छ । सभापति लामिछाने स्वयं दुई पटक गृहमन्त्री भए । तर, त्यो बेला सहकारी पीडितले पटकपटक हारगुहार गर्दा र धेरैपटक ज्ञापनपत्र बुझाउँदा पनि पीडितको समस्या समाधान रास्वपाले कुनै पहल गरेको थिएन ।
तर, अहिले लामिछाने पक्राउ परेपछि उनी मुक्त भए भने सबैको पैसा चुक्ता गराउने छौँ भन्ने ढंगले रास्वपा नेताहरुले घरदैलो गर्न थालेपछि पीडितहरुले रास्वपाको त्यो रणनीतिलाई चील देखाएर खोरका कुखुरा चोर्ने रणनीति भनेर पत्याउन छाडेका छन् । यद्यपि, रास्वपाका नेताहरु सहकारी ठगी धन्दाका प्रमुख नाइके जिबीका व्यापारिक साझेदार रविलाई बचाउँने र जनतालाई भेडा बनाउने जिजीविषा कायमै राखेर अर्थहीन आन्दोलन गरिरहेका छन् ।