प्रमुख प्रतिपक्षसहितका दलहरूले भेटे राष्ट्रपति
काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको हो ।
प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिनुभएको थियो ।
राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उहाँहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।
संसद्मा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् ।