राष्ट्र बैंकले धनतेरसका लागि मंगलबार सुनकाे असर्फी बिक्री गर्ने

काठमाडाैं, ९ कात्तिक । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनको असर्फी बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणका लागि मंगलबार बिहान ११ बजेदेखि सुनकाे असर्फी बिक्री खुला हुनेछ भने मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ। सुनको असर्फी २.५ ग्रामको हुनेछ।

चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुनेछ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने छन् ।

गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइने भएको हो।

यस वर्ष चाँदीका मेडालियनको मूल्य बढेको राष्ट्र बैंकले जनाएकाे छ। यसपालि कात्तिक १३ गते धनतेरस परेको छ। धनतेरसका दिन सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ।