पञ्चाङ्गको पात्रोले जहिलै विवाद : स्वन्ति वैज्ञानिक रुपमा मनाउने किन व्यवहारिक रुपमा ?

काठमाडौं । आजबाट विधिवत् रुपमा यमपञ्चक (तिहार) सुरु भएको छ। बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो।

देश नै तिहारको रमझममा झुमिरहेको बेला काठमाडौं उपत्यकामा भने यही पर्वलाई लिएर अन्यौल छ। भक्तपुर र ललितपुरमा अधिकांश नेवार समुदायले लक्ष्मीपूजा बुधबार मनाउँदैछन्। यता, काठमाडौंमा भने लक्ष्मीको पूजा शुक्रबार गर्ने तयारी छ। समितिको पात्रोमा भने शुक्रबार कुनै पर्व छैन।

तिथिका बारेमा विवाद आउँदा काठमाडौंका नेवारहरु जनबहा: मा गएर तिथिका बारेमा सोध्ने गर्छन्। जनबहा: का गुरुजुले तिथि किटान गरिदिन्छन्। पहिला घडी पला हेरेर तिथि नहेरिँदा यही व्यवहारिक पक्षमा चलनहरु चल्ने गर्थ्यो। त्यही तिथिलाई नेवारहरुले आधिकारिक तिथि मानेर आफ्नो परम्परा संचालन गर्दै आए। पछि पञ्चाङ्ग समिति बनेपछि वैज्ञानिक हिसाबमा तिथि मिति तय भयो। अनि, तिथिलाई लिएर विवाद सुरु हुन थाल्यो।

यसपटक जनबहालले बिहीबार लक्ष्मी पूजा मनाउने भनेको छ। जसकारण काठमाडौंका अधिकांश नेवारहरुले बिहीबार त्यो पर्व मनाउँदैछन्।

यता, भक्तपुरमा पनि तिथि विवाद हुँदा तलेजुमा सोध्ने परम्परा छ। ललितपुरमा पनि त्यही प्रकृतिको परम्परा कायम छ। तर, समितिको पात्रोले व्यवहारिक पक्षलाई नसमेट्दा एउटै समुदाय अहिले पर्व विवादमा रुमलिरहेको छ। दसैंमा पनि भएको यही हो।

यो वर्ष दसैंमा चालं (टीका) कहिले गर्ने भनेर नेवार समुदायभित्रै विवाद भयो। अहिले तिहार कसरी मनाउने भनेर पनि व्यापक छलफल छ। नेवार समुदायमा पञ्चाङ्गको पात्रो अनुसार तिहार मनाउने कि व्यवहारिक रुपमा ‘स्वन्ति’ मनाउने भन्ने विवाद छ।

नेवार समुदायले कौलागा औंसीको रातमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ‘न्हू दँ’ नेपाल सम्वतको पहिलो दिनका रुपमा मनाउँदै आएका छन्। बिहान नेपाल सम्वतको स्वागत गर्दै साँझ म्हपूजा गर्ने परम्परा रहेको छ। त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै किजापूजा मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने गरिन्छ। तीन दिन लगातार मनाउने पर्व भएकोले नै यसलाई ‘स्वन्ति’ भनिएको कथन पनि छ।

तर, समितिको पात्रोले लस्करै मनाउनुपर्ने पर्वको व्यवहारिक पक्षलाई महत्व नदिँदा हरेक वर्ष यस्तो समस्या देखिने गरेको छ।

स्वन्ति पर्वको मुख्य आकर्षण भन्नु नै ‘न्हू दँ’ (नयाँ वर्ष नेपाल सम्वत र म्हपूजा) हो। विहान नेपाल संवतको स्वागत गरेर राति म्ह: पूजा गर्ने परम्परा छ। तर, २०७६ सालमा पञ्चाङ्गको पात्रोले म्ह: पूजा र नेपाल संवतलाई नै छुट्याइदिएको थियो। आज म्ह: पूजा गरेर भोलिपल्ट नेपाल संवतको सुरुवात हुने समितिको निर्णय थियो। त्यो निर्णयलाई नेवार समुदायले मानेनन् र विद्रोह गरेर स्वन्ति नै मनाएका थिए। करिब १५ वर्ष अघि पनि यस्तै समस्या आएको थियो। त्यस बेला नेवारहरुले सरकारले घोषणा गरेको भाइटीकामा नभइ भोलिपल्ट भाइटीका मनाएका थिए।

समितिले वैज्ञानिक आधारमा बनाएको पात्रो मान्ने कि व्यवहारिक पक्षलाई मान्ने भन्ने विषयमा नै नेवार समुदायमा एकधार बन्न सकेको छैन। नेवा: अगुवा, अभियन्ता, संस्कृति पक्षबारे जानकारहरु एकै ठाउँमा बसेर निर्णय लिन सकिरहेका छैनन्। जसले समस्यालाई थप क्षेत्रिय र जातिय मुद्दा बनाएको छ।

कही नभएको जात्रा तिहारमा!

काठमाडौंका नेवार बुद्धिजिवीहरुले २०७६ सालको समितिको निर्यणलाई ‘कहीँ नभएको जात्रा तिहारमा’ देखाउने प्रयास गरेको उल्लेख गरेका थिए। त्यसबेला बौद्ध धर्मका विद्वान यज्ञमानपति बज्राचार्यले समितिले पटकपटक नेवार समुदायले मनाउँदै आएका चाडपर्वहरुको तिथिमाथि हस्तक्षेप गर्दै आएको बताएका थिए।

उनले भनेका थिए, ‘औंसीका दिन कारोबार सबै मिलाएर लक्ष्मीको पूजा गर्ने गरिन्छ। औंसीको भोलिपल्ट सूर्य उदयसँगै नयाँ नेपाल सम्वत सुरु हुनेछ। सूर्य उदयसँगै नेपाल सम्वत फेरिने हाम्रो परम्परा हो।’

काठमाडौंमा पहिला सूर्योदयसँगै आउने तिथिका आधारमा पर्व र जात्रा संचालन हुँदै आएकोमा पञ्चाङ्ग समिति वैज्ञानिक आधारमा पात्रो बनाउँछ। समितिले गणित विज्ञानकै आधारमा तिथि बनाएकोमा भने अहिले विरोध भएको होइन। व्यवहारिक पक्षलाई बेवास्ता गरेकोमा विरोध भइरहेको हो।

शास्त्र मान्नेहरुले लोकसंस्कृतिलाई ध्यान नदिँदा आदिवासी जनजातिहरुले आफ्नो आस्था, संस्कार र संस्कृतिमाथि आक्रमण भएको महसुस गर्दै आएको जानकार बताउँछन्।

यता भक्तपुर र ललितपुरका विज्ञहरु भने पात्रो अनुसार नै पर्व मनाउनु पर्नेमा अडिग छन्। राति औंशी नहुने भएकोले कसरी लक्ष्मी पूजा गर्ने भनेर उनीहरुले प्रश्न गरिरहेका छन्।

भक्तपुर र ललितपुरको तर्क पनि बेठिक छैन। त्यसैले उनीहरुलाई गाली गरेर पनि हुँदैन। व्यवहारिक र वैज्ञानिक पक्षलाई मिलाउन नसक्नु यो समुदायका लागि ठूलो चुनौती हो।

अहिले हरेक वर्षजस्तो तिथि विवाद देखिएको छ। पछिल्लो समय भक्तपुरमा एकदिन अघि नै नेपाल संवतको स्वागत हुँदा काठमाडौंमा भोलि पल्ट हुन्छ। यस्तो अवस्थामा नारामा मात्रै ‘नेवा: एकता’ देखिएको छ।

 

समिति छैन समावेशी

पटक पटक विरोध हुँदै पनि समितिले किन गर्छ त विवाद चर्काउने काम? किन भने समिति समावेशी नै छैन। समितिमा रहेका पदाधिकारी सबै एकै जातिका छन्। जसकारण उनीहरुले लोकसंस्कृतिको ख्याल नगरेको विज्ञहरु बताउँछन्। त्यसमाथि समितिले नयाँ पात्रो बनाउनु अघि नै नेपाल संवतको पात्रो सार्वजनिक भइसकेको हुन्छ। समितिले त्यसलाई पनि महत्व दिँदैन।

समितिमा पहिला नेवार समुदायबाट पनि प्रतिनिधित्व हुन्थ्यो। त्यसबखत पात्रो बनाउँदा नेवार समुदायबाट पनि मानिस बोलाउने गरिन्थ्यो। तर अहिले बोलाइँदैन।

त्यसैले समितिलाई समावेशी बनाएर सबैलाई एकरुपमा चाड मनाउने वातावरण बनाउनुपर्ने अवस्था आइसकेको छ। अर्को मुख्य कुरा भनेको नेवार समुदायमा नै पर्वहरु निर्धारण बारे व्यापम छलफल हुनुपर्ने देखिएको छ। एउटाले एक दिन र अर्को र दोस्रो दिन एकै चाड मनाउने हुँदा समितिले पनि त्यसमा केही गर्न सक्दैन। हरेक वर्ष दसैं तिहार आउँदा मात्रै यस्तो बहसले निकास दिँदैन। पात्रो त महिनौं अघि नै सबैको अघि हुन्छ। त्यो बेला देखि नै सबै एक ठाउँमा बसेर पर्वहरुलाई समावेशी बनाउनु पर्ने देखिन्छ। नत्र, हरेक वर्ष समितिलाई गाली गरेर मात्रै केही हासिल हुने देखिँदैन।

नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा मान्यता दिलाउन पद्मरत्न तुलाधर (स्वर्गीय)को अगुवाइमा भएको आन्दोलनलाई अब नेवारहरुको व्यवहारिक पर्व र परम्परा जोगाउने आन्दोलनका रुपमा रुपान्तरण गर्दै लैजाने समय आएको छ। अन्यथा भावी पुस्ता पनि यस्तै विषयमा रुमलिनेछन्। जुन नेवार समुदायको राजनीतिक विकासमा बाधा बन्न सक्छ।

-एसआर छिपा