नेपाल अमेरिकासँग ३७ रनले पराजित
काठमाडौँ, १८ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला भएकाे खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् ।
नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए ।
त्यस्तै सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए ।
नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ ।
त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।