बिपी कोइराला क्यान्सर अस्पतालमा तीन वर्षपछि पुनः ‘मेमोग्राफी’ सेवा सुचारू
चितवन, ५ मङ्सिर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ ।
स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले खरिद गरी अस्पताललाई उपलब्ध गराएको छ ।
विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उहाँको भनाइ छ । बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो ।
मेसिन एक महिनाअघि नै अस्पतालमा आएको भए पनि जडानका लागि प्राविधिकहरु आइपुग्न ढिलो हुँदा अहिले सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
स्तन क्यान्सरको परीक्षणमा अति प्रभावकारी यो मेसिन जडान र सेवा सुरु भएसँगै स्तन क्यान्सर समयमै पत्ता लगाई प्रभावकारी उपचार सुरु गर्न अझ बढी सहयोग मिल्ने उहाँको भनाइ छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले रु तीन करोड हाराहारी पर्ने उक्त मेसिन आएसँगै सेवालाई चुस्त बनाउन सहयोग मिलेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा भएका पुराना मेसिन उपकरणको मर्मत र नयाँ खरिद गरी सेवालाई थप प्रभावकारी बनाइएको छ ।
क्यान्सरको उपचार र परीक्षण प्रक्रिया आफैँमा लामो हुने भन्दै कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो, “बिरामी लामो पालो कुर्नुपर्ने अवस्थालाई घटाउँदै लगेका छौँ । अब रेडियोलोजी, शल्यक्रिया, प्रयोगशाला जस्ता सेवामा धेरै लामो पालो कुर्नुपर्ने अवस्था छैन ।”