निर्वाचन अनुगमन टोली काठमाडौं-१६ र कीर्तिपुरमा

काठमाडाैं, १२ मङ्सिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ।

मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको हाे ।

सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका छन् ।

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको हो।

अनुगमनका क्रममा आचारसंहिताको उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने सहसचिव एवं प्रवक्ता पोखरेलले जनाएकाे छ । त्यस्तै, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ। Press_Release_2081_08_12