रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयाे, प्रहरी परिसर भद्रकालीमा राखिने

काठमाडाैं, १३ मङ्सिर । सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएकाे छ ।

लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि काठमाडाैं ल्याइएकाे हाे ।

बिहीबार साँझ पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याएका रविलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा फर्काइएकाे थियो ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।