कालिमाटीकाे स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा रविसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता
काठमाडाैं, २१ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा रवीसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।
प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।
त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिलका अनुसार नाम/ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो।
केहीको तीन पुस्ते खुलाउन पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएका छन्।