मेयर बालेनबारे प्रवक्ताको प्रष्टिकरणः रमाइलो सकेर आज कार्यालय आउँदै हुनुहुन्छ
काठमाडौं, २४ पुस । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह काम गरेर भन्दा पनि विवादित बनेर बढी चर्चामा आउने नाम हो । उहाँका अपरिपक्क काम, शैली र व्यवहारलाई ‘वा १ बालेन’ भनेर चर्चा गर्नेहरुको भीड बढेपछि बालेन पनि त्यहि भीडको लहैलहैमा अहिले एकपछि अर्को उट्पट्याङ काम गर्ने, नेताहरुलाई अपाच्य गाली गर्ने र त्यसैमा रमाउने लडहमा लाग्न थालेपछि महानगरको कामले एकातिर गति लिन सकेको छैन भने अर्कोतर्फ कर्मचारीहरु पनि हैरान हुन थालेका छन् ।
संस्थालाई प्रणालीमा चलाउनुपर्छ । तर, पछिल्लो समय महानगरपालिमामा मेयर निर्वाचित भएर आएपछि त्यहाँ प्रणालीमा होइन मेयर बालेनको ‘हुकुमप्रमाङ्गी’मा चल्नुपर्ने अवस्था आएको छ । ठूला राजनीतिक दलका नेताहरुको आलोचना गरेर उदाउनु भएका मेयर साहको अर्को अनौठौ शैली के छ भने उहाँलाई अरुका सामान्य गाली पनि अपाच्य हुन्छन् । मेयर बालेनको उरन्ठेउलो प्रवृत्तिका कारण महानगर भित्रका कुनै पनि कर्मचारीले ढुक्कसँग र प्रणाली भित्र रहेर काम गर्न नसक्ने अवस्था बनेको गुनासो पनि पछिल्लो समय भुसको आगो जस्तै बढ्दै जान थालेको छ ।
नीति, नियमको समेत धज्जी उडाएर नियुक्ति दिएका बालेनका आसेपासेहरुले अहिले महानगरपालिका भित्र रजगज मात्रै गरेका छैनन् । उनिहरुले कर्मचारीलाई धाकधम्की दिएर आफन्त र नजिकका मान्छेहरुलाई ठूलाठूला ठेक्का पार्ने र त्यसको कमिसनमा रजगज गर्ने नयाँ रणनीति अख्तियार गरेपछि कर्मचारीहरु थप पीडित बन्ने गरेको गुनासो आउने गरेको । यतिसम्म कि आर्थिक विनियमावली तथा कानूनविपरीतका काममा हस्ताक्षर गर्न दबाब दिने र नगरेको अवस्थामा अनावश्यक कारवाही र सरुवाको पीडा खेप्नुपर्ने बाध्यताले अहिले कर्मचारीहरु त्राहित्राहि हुन थालेका छन् ।
यस्ता धेरै काण्ड मध्येको एक हो पछिल्लो निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनु भएका शिक्षा विभाग प्रमुख गोविन्द शर्माको जागिरबाटै राजीनामा काण्ड । शर्माले जागिर अवधि १५ महिना बाँकी रहेकै बेला राजीनामा दिनुभएको चर्चा छ । उहाँले राजीनामा दिनुको प्रमुख कारण कानूनविपरीतका काममा हस्ताक्षर गर्न दबाब दिने र नगरेको अवस्थामा अनावश्यक कारवाहीको हैरानी खेप्नुपर्ने नै रहेको महानगर स्रोतले पनि जानकारी दिएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साह केही दिनदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहेकै बेला निमित्त प्रमुख प्रशासकीय अधिकृतले समे सोमबार राजीनामा दिनुभएको छ । शर्माको राजीनामासँगै महानगर नीतिगत, शिक्षा र प्रशासनिक गरी सबै किसिमको नेतृत्वविहीन भएको छ ।
मेयरको सचिवालयका सदस्यहरूले आर्थिक विनियमावली तथा कानूनविपरीतका काममा हस्ताक्षर गर्न दबाब दिन थालेपछि शर्माले अख्तियारको फन्दामा पर्ने डरले जागिरबाटै राजीनामा दिएको निकट स्रोतले जनाएको छ । शर्मा महानगरपालिकाभित्र १० औं तहको कर्मचारी हुनुहुन्छ । आफैले गरेका कमजोरीलाई ढाकछोप गर्न मेयर साहले केही समय पहिला प्रमुख प्रशासकीय अधिकृतलाई कारवाहीको डण्डा चलाएर चर्चा कमाउनु भएको थियो । मेयर साहले आफूलाई चोख्याउन सामाजिक सञ्जालमा भ्रम छर्ने शैली नयाँ होइन । यो पटक पनि त्यस्तै शैली अपनाएर पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारवाहीको डण्डा चलाउनु भएको थियो ।
काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरणमा प्रमुख प्रशासकीय अधिकृतभन्दा पनि मेयर साह आफैँ फस्ने संभावना बढी छ । तर, उहाँले ती सबै कुरालाई ढाकछोप गर्न विभिन्न हथकण्डा अपनाउँदै आउनु भएको छ ।
जरिवाना तिराएर नवीकरण गर्न सकिने रायसहितको तलबाट आएको टिप्पणी उठाएर मेयरसँग पुगेको साहले सो टिप्पणीमा ५ लाख रूपैयाँ जरिवाना तोकेर हस्ताक्षर गरेको कागज बाहिरिएपछि आफुले गरेको गल्ती लुकाउन नसक्दा मेयर साह केही समयदेखि तनावमा रहेको महानगर स्रोतले नै जानकारी दिएको छ ।
अलिकति नताव भयो भने विना जानकारी वेपत्ता हुने मेयर अहिले पछिल्लो केही दिनदेखि वेपत्ता बन्नुभएको छ । केही दिनदेखि वेपत्ता मेयरको कुनै जानकारी नभइरहेका बेला उहाँकी पत्नी सविना काफ्लेले थाइल्याण्डमा परिवारसहित मस्ती गरिरहेको साहसहितको तस्बिर सार्वजनिक गरेपछि उहाँ थाइल्याण्ड पुग्नु भएको हो कि भन्ने अनुमान धेरैले गरेका छन् ।
आफ्ना केही आसेपासेसँग मात्रै रमाउने मेयर साह सञ्चारमाध्ययमसँग सम्पर्कमा नआउने मात्रै होइन कर्मचारीहरुसँग पनि खासै सम्पर्कमा हुनुहुन्न । सामाजिक सञ्जालमा केही अराजक टिप्पणी लेखेपछि बाँकी समय मोजमस्तीमै रमाउने साह पछिल्लो समय सम्पर्क विहीन भएपछि धेरै हल्लीखल्ली भयो । तर, साह कता गए भन्ने जानकारी धेरैलाई नभइ रहेका बेला सोमबार मात्रै उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको चिठी प्रशासन विभागमा पुगेको थियो ।
आफ्ना हरेक मस्तीमा मेयर साहसँगै पूर्वाधार मामिला सल्लाहकार रूपमा काम गरिरहनु भएका सुनील लम्साल पनि थाइल्याण्ड पुगेको बताइएको छ । पछिल्लो समय लम्साल साहको पृष्ठभूमिमा बसेर साहको समेत खर्च जोहो गर्नेमा बढी सक्रिय रहेको भन्दै महानगर भित्र पनि आलोचना हुने गरेको छ । जानकारहरुका अनुसार लम्साल ठेकेदारहरुसँग सेटिङ मिलाउन साहसहित थाइल्याण्ड पुगेको पनि चर्चा हुने गरेको छ ।
साहबारे प्रवक्त नवीन मानन्धरसँग सम्पर्क गर्दा उहाँले आज कार्यालय आउने जानकारी दिनुभयो । केही दिन अघिसम्म मेयरबारे जानकारी छैन भन्ने मानन्धरले मैत्रिन्युजसँग आजचाँहि थाइल्याण्ड पुगेको पुष्टि गर्नुभयो । तपाईँहरुको मेयर त कसैलाई जानकारी नै नदिई थाइल्याण्ड पुग्नुभयो भन्ने चर्चा छ नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘मेयर हराउनु भयो भनेर मिडियाले रमाइलो गरेर, मेयर साव पनि रमाइलो गर्न जानु भएको होला भन्ने लागेको छ ।’