स्ववियु निर्वाचन केन्द्रित राष्ट्रिय कार्यशालाः यसो भन्छन् अनेरास्ववियुका नेताहरु

काठमाडौं, २९ पुस । ‘विद्यार्थी विद्रोहका बन्दुक मात्रै होइन सिर्जनाका संवाहक पनि हुन्’ भन्ने नारासहित अघि बढेको अनेरास्ववियुले पछिल्लो समय आफूलाई समयअनुकुल परिवर्तन गर्दै लैजान थालेको छ । कुनै समय विद्यार्थी आन्दोलन भनेपछि चर्का भाषण गर्ने, ढुंगामुडा गर्ने भन्ने मनोविज्ञान विकास हुन्थ्यो ।

तर, पछिल्लो समय आन्दोलनको भूमिका फेरिएसँगै अनेरास्ववियुले पनि कहिले अखिल महोत्सव’ का नाममा आफूलाई बौद्धिक बहसमा उतारेर फरक मनोविज्ञानको विकास गर्ने प्रयास गर्दै आएको छ भने कहिले ‘कालो अक्षर, रातो अक्षर’ नाटकमार्फत शैक्षिक विकृतिमाथि क्षेप्यास्त्र प्रहार गर्दै आएको छ ।

पछिल्लो समय आफूलाई रचनात्मक, सिर्जनात्मक ढंगले आफूलाई अघि बढाउँदै आएको अनेरास्ववियुले आगामी फागुन–१५ मा हुने स्ववियु निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

नेकपा (एमाले) मुख्यालयमा गरेको कार्यशाला गोष्ठीमा मुलुकभरीका कार्यकर्तालाई भेला गरेर अनेरास्ववियुले निर्वाचनको तयारीमा जुट्न र रणनीति बनाउन आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित पनि गरेको छ । स्ववियु निर्वाचनलाई विश्वविद्यालयको आन्दोलनको उर्जा मान्ने अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि विश्वविद्यालयको उर्जा मर्न नदिन स्ववियु निर्वाचनको माग उठाउँदै आएको अनेरास्ववियुले राष्ट्रिय कार्यशाला गरेर मुलुकभरीका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न तयार पारेको बताउनुहुन्छ ।

मैत्रिन्युज डटकमले अनेरास्ववियुका अध्यक्ष, बडाल, उपाध्यक्षहरु नारायण घर्ती, मर्यादा विष्ट, गोविन्द गिरी, धर्म गिरी, महासचिव नरेश रोकाया, सचिव प्रकाश पौडेल, शैक्षिक विभाग प्रमुख गोविन्द थपलियालगायतसँग अनेरास्ववियुले गरेको राष्ट्रिय कार्यशाला गोष्ठी उदेश्य, पछिल्लो समय कमजोर बनेको विद्यार्थी आन्दोलन यसलाई उठाउन गरेका प्रयास, युवाहरुलाई राजनीतिप्रति आकर्षित गर्न अनेरास्ववियुले खेल्नुपर्ने भूमिका, युवाहरुको विदेश पलायन रोक्न खेल्नुपर्ने भूमिकालगायतका प्रश्नहरु गरेको थियो । उनीहरुको भनाई जस्ताकै त्यस्तै ।